भारत अघिअघि चीन पछिपछि

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ ।

भारतीय विदेश सचिव हर्षवद्र्धन शृंग्ला र चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भारतीय विदेश मन्त्री जय शंकर र चिनियाँ विदेश मन्त्री वाङ यीले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भएका छन् । तर उनीहरुको भ्रमणको मिति भने तय भइसकेको छैन ।

भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउने भएका छन ।

नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लागेका हुन।

उनको भ्रमण अवधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका बारेमा सरकारले औपचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भित्रीरूपमा गरिरहेको छ ।

नेपाल–भारत र चीन–भारतबीच सीमा विवाद कायम रहेकै बेला दुई देशबाट हुने उच्चस्तरीय भ्रमणलाई विश्व समुदायले नै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् ।

चीन र भारतबीचको सीमा विवादका कारण केही भारतीय सैनिकको समेत निधन भएपछि भारत सरकारले अमेरिकासँग विभिन्न प्रकारको सहयोग आदानप्रदानका बारेमा समेत सम्झौता गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयले चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा आज आइतबार मात्रै औपचारिकरुपमा जानकारी गराउने भएको छ । मन्त्रालयले भ्रमणका बारेमा जानकारी गराएपछि चिनियाँ रक्षा मन्त्रीको नेपाल भ्रमणका बारेमा औपचारिकता पाउने भएको छ ।

चीनका वरिष्ठ सरकारी अधिकारीले नेपाल भ्रमण गराउने भएपछि भारतले पनि रक्षा मन्त्री राजनाथ सिंहलाई नेपाल पठाउने तयारी गरेको बताइएको छ ।

नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम भएको ६५ वर्ष पुगेको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा समेत रक्षा मन्त्री वेईको सहभागिता रहने भएको छ । नेपालको विकासमा एक साझेदार रहेको चीनले सोही कार्यक्रममार्फत नेपाललाई गर्ने सहयोगको समेत घोषणा गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । यो खवर नेपाल समाचारपत्रमा छापिएको छ ।