‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

पोखरा । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पावर लिफ्टिङ एशोसिएसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी नेपालको तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी , राजेश सुवालले ९० केजी,सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुती कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले जानकारी दिए ।

उनका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित आठ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्नेछ । कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको एशोसिएशनका अध्यक्ष भुसाल बताउँछन् ।

एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको बताइन्छ । प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासङ्घका उपाध्यक्ष जीवन गिरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *