काठमाडौं । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।
कोरोना महामारीको चपेटामा परेका नागरिकलाई जतिसक्दो छिटो सहज रूपमा स्वास्थ्य उपचारको व्यवस्था मिलाउने उद्देश्यका साथ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न आधारभूत अस्पताल निर्माणका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका हुन् ।
अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले आगामी दुई वर्षभित्र ५, १० र १५ शøयाका आधारभूत अस्पताल निर्माण सम्पन्न हुने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थले सहमति दिने निर्णय गरेको जानकारी दिए ।
आवश्यक रकमको स्रोत सुनिश्चततासहित यस्तो व्यवस्था मिलाइदिएको अर्थ मन्त्रालयले यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा ससर्त अनुदानका रूपमा उपलब्ध गराउने जनाइएको छ । अर्थ मन्त्रालयले आधारभूत अस्पताल निर्माण गर्न यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ विभिन्न स्थानीय तहमा पठाइसकेको छ ।अर्थमन्त्री पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार आगामी १५ मंसिरमा भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।
गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी गराए । सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७१ संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । सो कार्यनीतिको दफा १२ को उपदफा (३) संशोधन गरी यो व्यवस्था गरिएको मन्त्री गुरुङको भनाइ छ ।
सरकारका प्रवक्ता गुरुङका अनुसार सो उपदफामा ‘स्थानीय तहअन्तर्गत स्थापना हुने ५ देखि १५ शøयाका आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा अस्पतालका नाममा नभएमा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता अस्पतालको भवन निर्माणका लागि आवश्यक सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय गर्न सक्नेछ’ भन्ने प्रतिबन्धात्मक वाक्यांश थप गर्न स्वीकृति दिने भएको छ । यो खवर राजधनी दैनिकमा आज छापिएको छ ।