१९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तार

काठमाडौं । नेपालमा १९ वर्षपछि पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु भएको छ । २०५८ सालयता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गए पनि भण्डारण क्षमता बढाइएको थिएन ।

पहिलोपटक १९ वर्षपछि निगमले आफ्नै लगानीमा पेट्रोलियम भण्डारण क्षमता विस्तारको काम सुरु गरेको हो । पोखरास्थित निगमको प्रदेश कार्यालयको परिसरमा रहेको ७७ रोपनी जग्गामा निर्माण कार्य सुरु गरिएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम भण्डारण क्षमता विस्तार कार्यको औपचारिक रूपमा शिलान्यास गरेका छन् ।

पेट्रोलियम पदार्थको वार्षिक माग १५ प्रतिशतले वृद्धि भए पनि निगमले १९ वर्षअघिकै भण्डारण क्षमताबाट आपूर्ति गर्नुपर्ने बाध्यता थियो । अहिले निगमले ७७ करोड लगानीमा १० हजार किलोलिटर क्षमताको डिजेल भण्डारण गृह निर्माण सुरु गरेको हो । भण्डारण क्षमता बढ्दा निगमलाई पेट्रोलियम पदाथ आपूर्तिमा सहज हुने भएको छ ।

निगमका अनुसार २०५८ मा एसियाली विकास बैंक ९एडीपी० को सहयोगमा काठमाडौंको थानकोट र पोखरामा भण्डारण क्षमता बढाएको थियो । त्यो समययता पेट्रोलिय भण्डारण क्षमता बढाउन सकेको थिएन । दिनकै माग बढे पनि निगमले १९ वर्षपछि भण्डारण क्षमता बढाउन सुरु गरेको हो । सो भण्डारण कार्य एक वर्षभित्रमै सक्ने लक्ष्य रहेको निगमले जनाएको छ । हाल निगमसँग देशभर पेट्रोलियम पदार्थ भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्ने रहेको छ ।

निगमको तथ्यांकअनुसार पेट्रोल करिब ६ दिनलाई डिजेललाई ११ दिन र हवाई इन्धन करिब १२ दिनका लागि मात्र धान्न सक्ने क्षमता छ । २०७२ सालमा भारत सरकारले नेपालमा नाकाबन्दी गरेपछि सरकारले ९० दिनलाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारण क्षमता बढाउने नीति ल्याएको थियो । सो नीतिअनुसार नै निगमले भण्डारण क्षमता बढाउने कामको सुरुवात गरेको हो । सरकारको नीतिअनुसार निगमले दिन प्रतिदिनको बढ्दो पेट्रोलियम मागलाई आवश्यकताअनुसार पूर्ति गर्न ९० दिनका लागि झापा, सिराहा, चितवन र भैरहवामा गरी चार स्थानमा जग्गासमेत खरिद गरेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धनको आपूर्ति व्यवस्थालाई सहज बनाउन पोखरामा १० हजार किलोलिटर डिजेलको भण्डारण गृह निर्माणको काम सुरु गरिएको जानकारी दिए । पोखराबाट सुरु गरिएको भण्डारण गृह निर्माण कार्य अन्य प्रदेशमा पनि क्रमिक रूपमा गरिनेछ । यो खवर राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *