प्रज्जवल थापा । करिब एक वर्षको अन्तरालपछि नेपाली राष्ट्रिय फूटबल टोलीले अन्तराष्ट्रिय खेल खेल्दै छ । आज हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशको सामना गर्दै छ । बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।
नेपाली टोली झन्डै एक वर्षपछि मैदान उत्रिन लागेको हो । गत वर्ष नोभेम्बर १९ मा कुवेतसँग खेलेयता नेपालको लागि आज पहिलो खेल हुनेछ । आफ्नो पछिल्लो चार खेलमा पराजित भएको नेपाल आज घरेलु टोलीलाई पराजित गर्दै नँया शुरुवात गर्न चाहन्छ । टोलीका नियमित खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशिक्षक बालगोपाल महर्जन ८ नँया खेलाडी लिएर बंगलादेश पुगेका थिए ।
टोलीमा नियमित सदस्य नभएपनि सकारात्मक नातिजा निकाल्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक महर्जनले बताए । उनले भने, ” अहिलेको समय भनेको हाम्रो लागि निकै गार्हो समय हो । हाम्रो आठ जना नियमित सदस्य यस मैत्रीपूर्ण सिरिजमा खेल्नेछैनन् । तर टोलीमा आएका नँया सदस्यले राम्रो गरिराखेका कारण उनिहरुबाट नतिजा पाउनेमा ढुक्क छु।” महर्जनले थपे, ” बंगलादेशविरुद्ध पछिल्लो ५ खेलमा हामीले राम्रो खेलिराखेका छौ । भोलिपनी त्यही प्रदर्शनलाई निरन्तर दिने हाम्रो लक्ष्य हुनेछ । ”
हेड टु हेड
अहिलेसम्म नेपाल र बंगलादेश १९ पटक भिडेका छन् । १९ खेलमा १२ खेल बंगलादेशले आफ्नो पोल्टामा पारेको छ भने ७ खेल नेपालले जितेको छ । एक खेल भने बराबरीमा सकिएको थियो । तर पछिल्लो पाँच खेलमा भने नेपाल हावी भएको छ । ५ खेलमा तीन खेल नेपालले जित्दा १ खेलमा हार बेहोरेको छ भने एक खेल बराबरीमा सकिएको थियो । सन् २०१८ मा दुई टोलीबिच अन्तिम भेट भएको थियो । साफ च्याम्पियन्ससीप अन्तर्गत भएको खेलमा नेपाल २-० गोल अन्तरले विजयी भएको थियो ।
नेपालको सम्भावित पहिलो ११
नियमित पाँच सदस्यमा कोरोना संक्रमण पुष्टि भएकाे कारणपनि नेपाली टोलीको शुरुवाती ११ मा फेरबदल हुनेछ । डिफेन्समा अनन्त तामाङले नँया जोडि पाउने निश्चित छ । नियमित सदस्य देवेन्द्र तामाङमा भाइरस पुष्टि भएपछि उनी बंगलादेश भ्रमणमा छैनन् । त्यसैले अनन्तलाई बिक्रम लामाले साथ दिने सम्भावना छ ।
किरण चेम्जोङ (कप्तान); विकास खवास, अनन्त तामाङ, बिक्रम लामा, सुमन अर्याल; रवि पासवान, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ; नवयुग श्रेष्ठ, भरत खवास
खेल कसरी हेर्ने ?
बंगलादेश र नेपालबिचको खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले गर्नेछ । युटुबमा टि स्पोर्ट्सले पनि खेलको प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।