काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अहिले पनि मुलुकको परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भइरहेको बताएका छन् । गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले धर्मनिरपेक्षता लगायतका परिवर्तनलाई कमजोर बनाउने प्रयत्न भएको भन्दै सजग भएर अघि बढ्नुपर्ने बताएका हुन् । उनले सबै आन्दोलनलाई शान्तिपूर्ण रुपले संस्थागत गर्न सकेकै कारण मुलुकमा परिवर्तन सम्भव भएको उल्लेख गरे ।
जनताले चाहेको जस्तो आर्थिक विकास लगायतका काम अझै हुन नसकेको भन्दै लोकतन्त्रलाई बलियो बनाउँदै मुलुकको विकासमा अघि बढ्नुपर्ने सापकोटाले बताए ।
उनले लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसाथ गर्न नसके परिवर्तहरु कमजोर हुन सक्ने जिकिर गरे । सभामुख सापकोटाले पद ठूलो कुरो नभएको भन्दै देशप्रतिको इमान्दारीता र निष्ठा मुख्य कुरा रहेको बताए । त्यस्तै नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधानलाई बलियो बनाउनका बनाउनुपर्ने भन्दै कमी कमजोरीहरुलाई सच्चाउदै अघि बढ्नुपर्ने बताए ।
नेपाली भूमिलाई नक्सामा समावेश गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएको भन्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउन पनि सबै दल एक हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको थियो । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद समस्या समाधान गर्नुपर्ने बताए ।