चितुवा आतङ्कले तनहुँको बन्दीपुरबासी त्रसित

  • 1
    Share

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवा आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छन् । “घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,” उनले भने ।

वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतङ्क रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिए । “शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,” उनले भने, “चितुवाको आतङ्क भने छ ।” उनका अनुसार केही समय अगाडि भने स्थानीयवासीले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *