नेपाली फुटबल टोलीले ढाकामा थाल्यो प्रशिक्षण

ढाका । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आइतबारबाट ढाकामा प्रशिक्षण सुरु गरेको छ । नेपाली टोलीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गरेको हो ।

नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्नेछन् । यसअघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो ।

तर, शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

ढाका आएपछि मैदानमै अभ्यास गराउन पाएका प्रशिक्षक बालगोपाल महर्जनले कोरोना कारण केही समस्या देखिए पनि नतिजा नेपालले राम्रो ल्याउने विश्वास व्यक्त गरे ।

यस्तै कप्तान किरण चेम्जोङले पनि नेपाल र बंगलादेशको स्तर समान रहेकाले मैत्रीपूर्ण म्याचमा तीव्र प्रतिस्पर्धा हुने बताए । नेपाली टोली गत बिहीबार ढाका पुगेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *