उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकलाई पक्राउ गर्न गृह मन्त्रालयलाई पत्राचार गरिने

काठमाडौं । उखु किसानहरुले छठपर्वभन्दा अघि आफूहरुको सम्पूर्ण रकम भुक्तानी नभए मंसिर २७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उखु मिलहरुले आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा उखु मिलहरुले ढिलाइ गरेको आरोप लगाएका छन् । उखु किसानहरुसँग गत वर्ष माघ महिना सरकारले गरेको लिखित सम्झौता कार्यान्वयन नभएको भन्दै समेत बताएका छन् ।

किसानहरुको स्मरणपत्र बुझ्दै मन्त्री भट्टले उखु किसानहरुको सम्पूर्ण समस्या समाधान गर्ने आश्वासन दिए । उनले उखु किसानको भुक्तानी नदिने चिनी मिल संचालकलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयमा परिपत्र गरिने बताए । बन्द भइसकेका मिलको जग्गा वा सम्पत्तिलाई बिक्री गरेर भएपनि भुक्तानी गराउन भूमि व्यवस्था मन्त्रालयमा जानकारी गराउने उनले बताए ।

उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले आफ्नो उत्पादनको पैसा माग्न काठमाडौंमा धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । यसअघि उद्योग मन्त्रालय र ऊखु किसान संघर्ष समितिबीच वि.सं. २०७६ साल पुष १८ गते ऊखु किसानहरूको भुक्तानी गर्ने पहल अघि बढाउने सहित पाँच बुँदे सम्झौता भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *