नगरपालिकाबाट भुक्तानी नपाउँदा सम्पदाको काम रोकियो, उपभोक्ता समिति ऋणमा डुब्दै

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्रका मठमन्दिर तथा सम्पदाको जीर्णोद्धार एवं पुनःनिर्माण धमाधम भइरहे पनि नगरपालिकाबाट भुक्तानी नपाउँदा अधिकांश उपभोक्ता समिति ऋणमा डुबेका छन् । विसं २०७२ को महाभूकम्पले जीर्ण बनेका र लोपोन्मुख अवस्थामा पुगेका सम्पदाहरुको तीन वर्षदेखि भइरहेको पुनःनिर्माण एवं जीर्णोद्धारको पेश्की तथा बाँकी भुक्तानी रकम नगरपालिकाले नदिँदा उपभोक्ता समितिहरु ऋणमा डुब्न थालेका हुन् ।

नगरपालिकाले उपभोक्ता समितिमार्फत विसं २०७४ बाट निर्माण शुरु गरेको वडा नं ४ स्थित शङ्खधर चोकको फोहर फाल्ने डाँडालाई सफा गरी दुबो रोप्ने, ढुङ्गेधारा, सिँढीसमेतको संरचना निर्माण गरी नमूनाका रुपमा शङ्खधर उद्यान ९पार्क० बनाउँदा नगरपालिकाको रु दुई करोड ५० लाख खर्च भइसकेको छ । काठमाडौँ महानगरपालिकाको रु एक करोडको सहयोगसमेत रहेको यो उद्यानका लागि चौथो नगरसभाले चालू आवमा रु एक करोड खर्च गर्दै शङ्खधर पार्कमा शङ्खधर साख्वाःको सालिक, ठूलो शङ्ख, पानीको ट्याङ्की, पोखरी, पर्खाललगायतका संरचना निर्माण गर्दै उद्यानको काम सम्पन्न गर्न बजेट विनियोजन गरे पनि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालले भुक्तानी रोक्दा उपभोक्ता समिति निकै मारमा परेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

विसं २०७६ मा महानगरले दिएको रकममध्येबाट रु ८० लाखको भुक्तानी भए पनि बाँकी रु २० लाखको भुक्तानीसमेत रोकेको भन्दै उनले चालू आवका लागि नगरपालिकाले विनियोजन गरेको बजेटको पेश्की रकमसमेत नदिएको बताए । पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पिलाले तीन वर्षदेखि भुक्तानी नरोके पनि अहिलेको प्रशासकीय प्रमुखले भुक्तानी रोकिदिँदा चालू आवमै काम सम्पन्न गर्न समस्या पर्ने बताए । पेश्कीसमेत नपाउँदा निर्माण सामग्री ल्याएको ठाउँ र मजदूरलाई ऋण गरेर पैसा दिनु परेको बताए ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रशासकीय प्रमुख रिजालले हुँदै नभएको योजना, कामै नभएको योजना भनेर बाहिर भ्रम फैलाउने गरेको, नगरपालिकाको विरोधी तत्वहरुसँग मिलेर चौथो नगरसभाले विनियोजन गरेको बजेटको भुक्तानीसमेत रोकेर नगरपालिकाको विकासमा बाधा पुर्याएको बताए । उनले भने, “काठमाडौँ महानगरपालिकाले दिएको सहयोग रकमको भुक्तानी दिन दाताको सहमति चाहिन्छ भनेर बखेडा गरेको र महानगरले सहमति पठाए पनि चेक नकाटी विकास नै रोक्ने काम गरेको छ ।”

त्यस्तै, आगामी बिस्केट जात्राका लागि निर्माण सम्पन्न गर्ने गरी मल्लकालीन शैलीमा निर्माण शुरु भएको वडा नं ४ को विष्णुवीरको पाटी निर्माण अलपत्र परेको छ । उपभोक्ता समितिका अध्यक्ष सिरोज खिमुले जनप्रतिनिधिले साउन पहिलो साता शिलान्यास गरी निर्माण शुरु भएको पाटीको डिपिसीसम्मको संरचना बने पनि पेश्की नपाएको गुनासो गरे । रु ५० लाखको बजेटमा निर्माण शुरु भएको पाटीको दशैँअगाडि नै रु १५ लाखको पेश्की पाउनुपर्नेमा रकम नपाउँदा निर्माण सामग्री ल्याएको ठाउँमा र मजदूरलाई ऋण गरेर रकम दिनु परेको उनले बताए ।

त्यस्तै नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पताल अगाडिको सडकको ढलान कार्य अलपत्र परेको छ । उपभोक्ता समिति गठन गरी ढलानको काम छिटो सक्ने गरी गत भदौदेखि दिनरात काम गरी फुटपाथ बनाउने, ग्राबेल हाल्ने र बेसको काम सके पनि पेश्की रकमसमेत नपाउँदा महिना दिनदेखि ढलान रोकिएको उपभोक्ता समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

नगरप्रमुख श्रेष्ठले कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार एवं आइसियुकक्ष रहेको भवन अगाडि धुलो उडेर बिरामीलाई असर पर्न थालेपछि नगरसभाले शीर्षक नै तोकेर सो सडकमा ढलानका लागि रु एक करोड बजेट विनियोजन गरेर काम शुरु गराए पनि समितिलाई पेश्कीसमेत नदिँदा काम नै रोकिएको बताए । कोभिडको महामारी बढ्दै गएपछि श्यया अभाव हुन नदिन अस्पतालमा अहिले चालु रहेको प्रशासनिक भवनलाई माथि सार्ने र सो ठाउँमा बिरामीका लागि श्यया थप गर्ने गरी चौथो नगरसभाले सोही शीर्षकमा रु एक करोडको बजेट विनियोजन गरेर उपभोक्ता समितिमार्फत काम शुरु गरे पनि प्रशासकीय प्रमुख रिजालले भुक्तानी रोक्दा अस्पताल भवनको तला थपमा समेत ढिलाइ भएको उनको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष रामकाजी श्रेष्ठले बिरामी राख्न ठाउँ चाहियो भन्दै भदौ दोस्रो साताबाट छिटो निर्माण सक्ने गरी दिनरात नभनी अस्पतालको तला थपको काम शुरु गरे पनि नगरपालिकाबाट एक पैसा पनि नपाउँदा ऋण गरेर निर्माण सामग्री ल्याएका पसल र कामदारलाई भुक्तानी गर्नु परेको गुनासो गर्नुभयो । निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको आकर्षक लायकु दरबार पुनःनिर्माणको भुक्तानीसमेत रोकिँदा दरबार निर्माण नै अलपत्र परेकोे छ ।

विसं २०७४ बाट दरबारको पुनःनिर्माण शुरु भई नगरपालिकाले हरेक वर्ष भुक्तानी दिए पनि यो वर्षको अन्तिम किस्ता रोकिँदा दरबार पुनःनिर्माणमा समस्या परेको उपभोक्ता समितिका अध्यक्ष भरत ध्वःले बताए । उनले शुरुमा प्रशासकीय प्रमुख रिजालले भुक्तानी दिन्छु भने पनि पछि राजनीतिक सहमति भएन भन्दै चाडबाडको मुखमा पेश्कीसमेत रोक्दा ऋण गर्नु परेको बताए ।

नगरप्रमुख श्रेष्ठले भने, “तीन वर्षदेखि दरबार पुनःनिर्माणको काम भइरहेको छ, हरेक वर्ष रु एक करोडको दरले बजेट विनियोजन गर्दै आएको नगरपालिकाले यसअघि करीब रु तीन करोड भुक्तानी दिइसकेको छ, यो वर्ष दरबार निर्माण सम्पन्न गर्न नगरसभाबाट पारित भएको रु ७५ लाख बजेटको पेश्की रु २५ लाखसमेत नदिई प्रशासकीय प्रमुख रिजालले सम्पदा निर्माणमा अवरोध पुर्याएका छन् ।”

आगामी बिस्केट जात्रामा यही दरबारमा राखेर राष्ट्रपतिलाई जिब्रो छेड्ने जात्रा देखाउन ल्याउने तयारी गरे पनि पेश्की रकम दिन राजनीतिक सहमति चाहिन्छ भन्दै रिजालले भुक्तानी रोकेको उनको भनाइ छ । नगरपालिकाले गत वर्ष विनियोजित रु एक करोड ३० लाखको बजेटमा बोडेकै कुमारी पार्क निर्माण गरेको थियो । सो पार्कमा यस वर्ष ढुङ्गेधारा, पाटी, शौचालय, पर्खाललगायतका संरचनाको बाँकी काम सम्पन्न गर्न नगरसभाबाटै यही शीर्षकमा रु एक करोड ३० लाख बजेट विनियोजन गरे पनि यस वर्षको पेश्कीसमेत प्रशासकीय प्रमुखले रोकेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष विजय प्रजापतिले भने, “यहीँ पार्क बनाउँदा गत वर्ष भुक्तानी दिन मिल्ने, यस वर्ष नमिल्ने, यो कस्तो नियम हो, आफ्नै ठाउँ बनाउन खटियौँ, अहिले निर्माण सामग्री लिएको पसल र मजदूरलाई भुक्तानी गर्न रु ३० लाख ऋण गर्नुपर्यो, यसले विकासमा त समस्या पर्यो नै, हामीले समेत ब्याजमा रकम तिर्नुपर्यो ।”

त्यस्तै, विष्णु कुण्डलमाथि पुनःनिर्माण शुरु भएको मल्लकालीन शैलीको पाटी र लोपोन्मुख अवस्थामा रहेको कयकु कोताः पोखरीको निर्माणसमेत अलपत्र परेको छ । आगामी बिस्केट जात्रालाई तयार पार्ने गरी नगरपालिकाले रु ७५ लाखको बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत काम शुरु गराए पनि पेश्की रकम नपाउँदा काम प्रभावित भएको हो । उपभोक्ता समितिका अध्यक्ष उमेश श्रेष्ठले पोखरी निर्माण अन्तिम चरणमा पुगेको, पार्टी निर्माण धमाधम भइरहे पनि नगरपालिकाले पेश्की नदिँदा अहिले काम नै रोक्नुपर्ने अवस्थामा पुगेको बताए ।

यता भूकम्पले भत्काएपछि नगरपालिकाको आफ्नै बजेटमा मौलिक शैलीमा पुनःनिर्माण शुरु गरेको वडा नं ८ नगदेशको प्रसिद्ध सिद्धिगणेश मन्दिरको बजेट प्रशासकीय प्रमुखले रोकेका छन् । गत आवमा रु एक करोडको बजेटमा पुनःनिर्माण शुरु भई चालू आवमा निर्माण सम्पन्न गर्ने गरी नगरसभाले रु एक करोडको बजेट विनियोजन गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर घँजुले गत आवमा विनियोजित सबै बजेट आएर काम भए पनि चालू आवमा विनियोजित रकमको पेश्कीसमेत नपाउँदा सम्पदा पुनःनिर्माण नै रोकिने अवस्थामा पुगेको गुनासो गरे ।

प्रशासकीय प्रमुख रिजालले राजनीतिक सहमति चाहिन्छ भन्दै ठूला–साना आयोजनाको भुक्तानीसमेत रोकेको, सामाजिक सुरक्षाभत्ता वितरण नगरेको घरमै बसेर नगरपालिका चलाउन खोजेकाले कारबाही गरेर फिर्ता पठाउनु परेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । प्रशासकीय प्रमुख रिजालले भने कोभिडका कारण घरमै बसेर काम गरेको बताउँदै नियमसङ्गतरूपमा आएका योजनाको भुक्तानी नरोकेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *