देशलाई विभाजित नभई एकताबद्ध पार्ने बाइडनको प्रतिबद्धता

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई विभाजित नभई एकताबद्ध पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जितपछि सम्बोधन गर्दै उनले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गरे । बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताए । उनले भने, ‘ तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु।‘ उनले आफू विभाजन गर्न खोज्ने नभई एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गरे ।

उलने भने, ‘जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।’ अमेरिकामा डेमोक्रेटिक पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन् । बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गरेका हुन् । कुनै कानुनी अवरोध सिर्जना नभए उनले आगामी जनवरी महिनामा पदभार ग्रहण गर्नेछन् ।

उनीसँगै निर्वाचनमा सहभागी भएकी कमला ह्यारिस अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति बन्नेछिन् । कडा प्रतिस्पर्धा भएको पेन्सिल्भेनिया राज्यमा ट्रम्पलाई उछिनेपछि बाइडने निर्वाचन जितेको घोषणा गरिएको हो । अमेरिकामा विभिन्न राज्यलाई छुट्याइएको निश्चित इलेक्टरल भोटको आधारमा राष्ट्रपति निर्वाचित हुन् ।

सबै ५० राज्यमा निहित कुल ५३८ इलेक्टरल मतमध्ये राष्ट्रपति निर्वाचित हुन २७० मत आवश्यक पर्छ । डोनल्ड ट्रम्पको पक्षमा सञ्चालित निर्वाचन अभियानले अझै आशा नमारेको सीबीएस न्यूजमा प्रकाशित विवरणमा उल्लेख छ ।

ट्रम्प र उनका पक्षधरहरूले निर्वाचनमा अनियमितता र धाँधली भएको आरोप लगाउने गरेका छन् । तर उनीहरूले त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *