काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भइसकेका र महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका नेताले फर्किफर्की नेतृत्वका लागि लडाईं लड्नु गलत भएको बताएका छन् ।
शनिबार एपीवान टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्रीले अब नेतृत्व नयाँ पुस्तालाई सुम्पिनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासका नेतालाई ७० वर्ष आसपासका नेताले नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए ।
उनले अहिले नेतृत्वका लागि लाडाईं आवश्यक नै नभएको बताए । प्रधानमन्त्रीले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनुपर्ने बताए ।
उनले भने, ‘हामी ७० आसपासका छौँ। महाधिवेशन सम्ममा सबै ७० पुग्छौँ। हामीले नै सधै ओगटिरहनु पर्ने किन ?’ प्रधानमन्त्रीले आफूले गुट नचलाएको भन्दै अन्य नेतालाईसमेत गुट सञ्चालन नगर्न आग्रह गरेका छन् । ‘म प्रधानमन्त्री छँदै छु किन गुटबन्दी गर्नुपर्यो ? म प्रथम अध्यक्ष छँदैछु किन गुटबन्दी गुर्नपर्यो’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो अरु साथीलाई पनि आग्रह छ, गुटबन्दी नगर्नुहोस्।’