प्रहरीको दशैँः कोभिडबाट नागरिकलाई सुरक्षित पार्नमै ध्यान

काठमाडौं । मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका प्रहरी कर्मचारीले यसपालिको बडादशैँको समय नागरिकको सुरक्षामा खटिएर व्यतीत गरेका छन् । कोभिड–१९ सङ्क्रमणको महामारी कायमै रहेकाले उनीहरुलाई जोखिमबाट रोक्नमै ध्यान केन्द्रित गरेर प्रहरीले दशैँ मनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अधिकांश प्रहरीले दशैँको समय बिदा नलिई सुरक्षामा खटिएर बिताए । प्रहरी कोभिड–१९ बाट आफू र नागरिकलाई जोगाउने प्रमुख उद्देश्यलाई आत्मसात् गर्दै दशैँमा अहोरात्र सुरक्षामा खटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए ।

“घर जाँदा आफूबाट परिवारमा सङ्क्रमण हुने डर रह्यो, फर्केर आउँदा क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालयलाई अप्ठेरो नपरोस् भन्ने पनि सबैले बुझे”, प्रनाम पोखरेलले भने, “नागरिकलाई पनि शान्तिसुरक्षा प्रदान गर्दै कोरोनाबाट जोगाउने अभिभारा भएकाले प्रहरी कर्मचारी अहोरात्र सुरक्षामै खटिए ।” पोखरेलले आफूले पनि कार्यालयको काममै खटिएर दशैँ मनाएको बताए ।

उनका अनुसार धेरै प्रहरी कर्मचारीले भिडियो कल गरेर आशीर्वाद थापी दशैँ मनाएका छन् । कतिपयले मन्दिरबाट प्रसाद लिएर दशैंँको आशीर्वाद थापे । सुरक्षा मापदण्ड अपनाएर केहीले कार्यालयमा टीका लगाए पनि यसपालि अधिकांश टीकाको कार्यक्रमसमेत रोकिएको छ । सधैँ प्रहरी महानिरीक्षकबाट टीका लगाउने कार्यक्रम भए पनि कोभिड–१९ का कारण यसपटक रोकिएको प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले बताए ।

प्रहरीका विभिन्न विभागीय प्रमुखले समेत यसपालि कार्यालय नछाडी दशैँ मनाएका छन् । त्यहाँ पनि टीका र आशीर्वादका औपचारिक कार्यक्रम भने भएनन् । घरपरिवारको अभाव महसुस नहुने गरी अन्य गतिविधि भने सुरक्षा मापदण्ड अपनाएर गरिएको थियो ।

यसपालि चाडबाडमा कोरोनाको महामारीसमेत भएकाले दोहोरो सुरक्षाको जिम्मेवारी बोकेका प्रहरीले रातदिन नभनी नागरिकको सुरक्षामा खटिएर दशैँ व्यतीत गरेका छन् । विगत वर्षमा बिदा मिलाएर छोटो समयका लागि टीका थाप्न प्रहरी घर पुग्थे । कोरोनाका कारण त्यो अवसर पनि यस पटक मिलेन । सुत्केरी या किरिया बिदाजस्ता अत्यावश्यक कामका लागि मात्रै प्रहरी घर गए ।

प्रहरी प्रधान कार्यालयका अनुसार चाडबाडमा सुरक्षाकर्मी बढी सक्रिय हुनुपर्ने भएकाले हत्तपत्त बिदा पाउँदैनन् । “चाडबाडका बेला साविकभन्दा झण्डै दोब्बर प्रहरी टोली परिचालन गर्नुपर्छ, नागरिक सहायता कक्षाका साथै अस्थायी जाँचचौकी बढाउनुपर्ने आवश्यकता हुन्छ”, प्रवक्ता कडायतले भने, “अझै चाडपर्वमा प्रहरी अपुग हुने भएकाले गण, तालीम केन्द्रका प्रहरी झिकाएर सुरक्षामा खटाउनुपर्छ, अहिले झन् कोरोनाको चुनौतीपूर्ण अवस्थामा प्रहरीले बिदा पाउने भन्ने त कुरै भएन ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले पनि यसपालिको दशैँ कार्य क्षेत्रमा खटिएर मनाइएको बताए । उनका अनुसार ट्राफिक प्रहरीलाई नागरिकको सुरक्षामा नै खटाइयो । सोका कारण दुर्घटनासमेत कम भएको प्रहरी वरिष्ठ उपरीक्षक ढकालको जिकिर छ । आलोपालो जिम्मेवारी लिएर कोरोनाबाट जोगिँदै र नागरिकलाई जोगाउँदै प्रहरीले काम गरेको ढकालले जानकारी दिए ।

चाडबाडमा बढी सवारी साधनको आवागमन हुन्छ । अझ मुख्य राजमार्गमा दुर्घटनाको जोाखिम हुने भएकाले वाग्मती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पनि दशैँको अधिकांश समय कार्यक्षेत्रमै खटिएर बिताए । “कोभिड–१९ को जोखिम त छँदैछ, त्यसमाथि दुर्घटनाबाट नागरिकको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो”, कोइरालाले भने, “त्यसैले बढी भाडा लिने, तीव्र गतिमा सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु हाल्ने चालक तथा सहचालकलाई कारवाही गर्न प्रदेशका सबै जिल्लामा ट्राफिक प्रहरी सक्रिय भए ।”

दशैँका समयमा एक त सवारी साधान कम सञ्चालन भएको र सञ्चालनमा आएका सवारी साधनको समेत निगरानी बढाइएकाले दुर्घटना कम भएको प्रहरीको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *