रासफोर्डको ह्याट्रिकमा युनाइटेडको सहज जित

प्रज्जवल थापा । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मार्कुस रासफोर्डले ह्याट्रिक गरेपछि इङलिस क्लब म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ूएचू को खेलमा युनाइटेडले जर्मन क्लब लिपजिकमाथी ५-० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदान ओल्ड ट्राफ्रोडमा भएको खेलमा युनाइटेडको जितमा रासफोर्डले ह्याट्रिक पुरा गर्दा मासोन ग्रिनवुड एन्थोनी मार्सियलले समान एक गोल गरे । खेलको २१ औँ मिनेटमा पोग्वाको पासमा मासोन ग्रिनवुडले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

६३ औँ मिनेटमा मासोन ग्रिनवुडको स्थानमा मैदान प्रवेश गरेका रासफोर्डले ७४ औँ मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा फ्रिडको पासमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड खेलमा ३-० गोलले अगाडी बढेको थियो ।

८७ औँ मिनेटमा मार्सियललाई पेनाल्टी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीमा आफैले गोल गर्दै युनाइटेडलाई फराकिलो जिततर्फ अग्रसर गराए । अतिरिक्त समयको दोस्रो मिनेटमा मार्सियलको पासमा रासफोर्डले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

समुहको अर्को खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी)ले प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा इस्तानबुल बसकसेइरलाई २-० गोल अन्तरले पराजित गर्यो । पिएसजीको जितमा दुवै गोल मोइस किनले गरे । जितसँगै पिएसजी २ खेलमा १ जित र १ हार बेहोर्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । दुवै खेलमा जित निकालेको युनाइटेड ६ अङ्कको साथ शिर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *