अस्पतालमा संक्रमितलाई सङ्क्रमित स्वास्थ्यकर्मीबाटै टीका

तुल्सीपुर । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीसहितका स्वास्थ्यकर्मीले अस्पतालमै उनीहरुलाई टीका लगाइदिएका हुन् ।

संक्रमितले यस वर्ष दशैँ मनाउन नपाएकाले अस्पतालमै भए पनि टीका लगाइदिएको व्यवस्थापक वलीले बताए । “यस वर्ष कोरोनाले गर्दा दशैँको रौनक छैन, धेरै व्यक्ति अहिले कोरोना संक्रमित हुनुहुन्छ, त्यसैले दशैँ मनाउन पाउनु भएन”, उनले भने, “संक्रमितको थप आत्मबल वृद्धि गर्नका लागि पनि हामीले टीका लगाइदिएका हौँ। ” व्यवस्थापक वली आफैँ पनि कोरोना संक्रमित छन् । आफूसहित अहिले अस्पतालमा १८ संक्रमित रहेको उनले बताए । “ म आफैँ पनि कोरोना संक्रमित हुँ, अहिले अस्पतालमा म पनि उपचारकै क्रममा छु”, उनले भने ।

अहिले पाँच जनालाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित देखिएका छन् । अहिले अस्पतालमा रहेका १८ जनालाई नै अक्सिजन दिनुपर्ने अवस्था रहेको व्यवस्थापक वलीले बताए । दशैँका समयमा पनि स्वास्थ्यकर्मी अहोरात्र खटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *