निगमको हङ्गकङ्ग उडान फेरि प्रतिबन्धित, नेपालको पीसीआर परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न

काठमाडौँ । दुई हप्ताको प्रतिबन्ध फुकुवा भएको चार दिनपछि नै राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको हङ्गकङ्ग उडानमा फेरि बन्देज लगाइएको छ । एउटै उडानका ६ नेपाली यात्रुमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि निगमकाे जहाजलाई हङ्गकङ्गमा उडान भर्न अक्टेबर १७ तारिखका दिनसम्म लागू हुने गरी पहिलाे पटक दुई हप्ता लामाे प्रतिबन्ध लगाइएको थियो ।

प्रतिबन्ध फुकुवापछिको पहिलो उडानमा काठमाडौँबाट हङ्गकङ्ग पुगेका ९ यात्रुमा काेभिड–१९ को संक्रमण पुष्टि भएपछि स्थानीय सरकारले निगमको काठमाडौँ–हङ्गकङ्ग रुटमा अर्काे दुई हप्ताको लागि प्रतिबन्ध लगाएको हो ।

स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाका प्रमुख छुवाङ सुक वानले पत्रकार सम्मेलनमार्फत नेपालको राष्टिय ध्वजावहाककाे नामै लिएर नोवेम्बर ४ तारिखका दिनका दिनसम्म लागू हुने गरी फेरि प्रतिबन्ध लगाइएको बताएका हुन् ।

निगमसहित हङ्गकङ्गका लागि उडान भर्ने एअर इन्डिया (नयाँ दिल्ली), एअर भिस्तारा (चेन्नाइ) र क्याथे ड्रागन (क्वालालाम्पुर)लाई पनि प्रतिबन्ध लगाइएको छ । एअर इन्डियालाई भने तीन पटक प्रतिबन्ध लगाइसकिएको छ ।

सेप्टेम्बर १५ तारिखका दिनदेखि लागू गरिएको अपतकालीन स्वास्थय नियमवालीमा एउटै उडानका कम्तिमा पाँच जना यात्रु कोरोना भाइसरबाट संक्रमित भए उक्त रूटमा दुई हप्तासम्म प्रतिबन्ध लगाउनसक्ने प्रावधान छ ।

नेपाल र भारतलगायत १३ देशलाई हङ्गकङ्ग सरकारले कोभिड–१९को उच्च जोखिमयुक्त मुलुकमा सुचिकृत गर्दै ती मुलुकबाट उडान गर्नुअघि पीसीआर नेगेटिभको रिपार्ट पेश गर्नुपर्ने र हङ्गकङ्ग पुगेपछि अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएकाे स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालको पीसीआर परीक्षण विश्वसनीयताप्रति प्रश्न उठाउँदै उडान गर्नुअघि यात्रुले गरेकाे परीक्षण सही नभएको वा नमूना परीक्षण गराउन नेपालीहरु सम्वेदनशील नभएको हुनसक्ने प्रमुख छुवाङले बताएका छन् । ‘हामीले दुई हप्ते प्रतिबन्ध लगाउनेबाहेक केही गर्न सक्दैनौँ’, उनले भने, ‘नेपाल सार्वभौम मुलुक हो र त्यहाँबाट आएका यात्रुहरु घर फर्किएका हङ्गकङ्गका बासिन्दा हुन् ।”

पहिलोपटक प्रतिबन्ध लाग्नुअघिको उडानमा हङ्गकङ्ग उत्रेका नेपाल वायुसेवा निगमका यात्रुमध्ये चार महिला र दुई पुरुष गरी ६ यात्रुमा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *