मृत्युदर बढ्दै गएपछि शव व्यवस्थापनमा चुनौती

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेपलाञ्चोकमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ ।

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडौँ पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो ।

सङ्क्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो । “पछिल्ला केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ”, केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ ।

यसैबीच, काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनीयरिङका विद्यार्थीले कोरोना सङ्क्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् । रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको श्ययाबाट शववाहनसम्म तथा शव वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । कात्तिक महिनाभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी ९नाष्ट०ले आर्थिक सहयोग गरेको छ ।

काभ्रेपलाञ्चोकमा बिहीबारसम्म ५२५ महिलासहित एक हजार ३७१ मा कोरोना सङ्क्रमण देखिएको छ । कूल सङ्क्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८८७ सङ्क्रमणमुक्त भएको पोष्टले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ९३ अस्पताल र ३७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो सङ्क्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *