सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आइतबार निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए ।
उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले जानकारी दिए । यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए ।
यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उहाँ स्वास्थ्यमन्त्री रहनुभएको थियो । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न थिए ।
उनको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनकी श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।
