आमनिर्वाचनमा न्यूजील्यान्डकी प्रधानमन्त्री आर्डर्नलाई ’ऐतिहासिक’ जित

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आमनिर्वाचनमा ’ऐतिहासिक’ विजय हासिल गरेकी छन् । अधिकांश मतहरू गणना भइसक्दा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ ।

योसँगै उनले संसद्मा बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । विपक्षी मध्य दक्षिणपन्थी न्याश्नल पार्टीले २७ प्रतिशत मत पाएको छ । उसले चुनावमा पराजय स्वीकारिसकेको छ । हुन त सेप्टेम्बर महिनामै आमनिर्वाचन हुने तय भएको थियो। तर देशमा दोहोर्याएर कोरोनाभाइरस महामारी फैलिएपछि एक महिना पर सारिएको थियो ।

निर्वाचन आयोगका अनुसार लेबर पार्टीले ४९ प्रतिशत, न्याश्नल पार्टीले २७ प्रतिशत, एक्ट न्यूजील्यान्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन् । न्यूजील्यान्डले करिब ५० वर्षमा लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको जितपछि समर्थकहरूलाई आर्डर्नले बताइन् ।

नेशनल पार्टीकी नेत्री जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिएकी छन् र आफ्नो दल जीवन्त प्रतिपक्षी बन्ने प्रतिबद्धता जनाएकी छन् । आर्डर्नको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ जुन संसद्मा बहुमतका लागि पर्याप्त हुनेछ । सन् १९९६ मा न्यूजील्यान्डमा ’मिक्स्ड मेम्बर प्रोपोर्शनल रिप्रेजेन्टेशन’ (एमएमपी) प्रणाली लागु भएयता कुनै पनि दलले यसरी मत ल्याउन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *