सहकर्मीको हत्या गरी फरार भएका अभियुक्त ११ वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै सहकर्मीको हत्या गरी फरार एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भीमफेदीका भीमसेन घागा मगर र रामकृष्ण चुनी मगर रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले जनाएको छ ।

ब्युरोको टोलीले ती दुई जनालाई बाँकेको नेपालगञ्जस्थित भातीय सीमा क्षेत्रबाट पक्राउ काठमाडौ ल्याएको हो । उनीहरुलाई थप कारवाहीका लागि आजै वारदातस्थल रहेको ललितपुरस्थित महानगरीय प्रहरी वृत्त चापागाउँमा बुझाइएको ब्युरोका प्रमुख प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

विसं २०६६ मा ललितपुरको गोदावरी नगरपालिका १३ ईँटा भट्टामा काम गर्ने मकवानपुरका डिलबहादुर योञ्जनलाई कोदालीको विँडले हानी हत्या गरिएको थियो । त्यसपछि उनीहरु फरार भई भारतमा लुकिछिपी बस्दै आएका थिए ।

उनीहरु बीच सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको प्रहरीले जनाएको छ । उनीहरु घटनापछि ललितपुरबाट पैदलै हेटौँडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारत गएका थिए । भारतमा परिचयसमेत बदलेर काम गर्दै आएका थिए । पछि परिवारसमेत भारत लगेको खुल्न आएको छ । निरन्तरको निगरानी पश्चात नेपाल आएको पत्ता लागेपछि पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *