डि भिल्लियर्सको सानदार प्रदर्शनमा बैंगलोर विजयी

प्रज्जवल थापा । एबिडी भिल्लियर्सको सानदार प्रदर्शनको मद्दतमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्यो ।

दुबई क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गर्न उत्रिएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७७ रन जोड्यो । राजस्थानको लागि रोविन उथप्पाले २२ बलमा ४१ रन जोडे । उनले ७ चौका र १ छक्का प्रहार गरे । स्टोक्सले १५, सम्सनले ९ रन जोड्दा कप्तान स्टिभ स्मिथले ३६ बलमा ५७ रन जोडे । उनले ६ चौका र १ छक्का प्रहार गरे । यस्तै जोस बट्लरले २४ र राहुल टेवाटियाले १९ रनको योगदान गरे ।

बैंगलोरको लागि क्रिस मोरिसले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । युज्वेन्द्र चहालले ४ ओभरमा ३४ रन दिदै २ विकेट लिए ।

१७८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १९.४ ओभरमा ३ विकेट गुमाएर १७९ रन बनाउँदै भेट्टायो । बैंगलोरको जितमा एबिडी भिल्लियर्स नायक बने । उनले अन्त्यमा विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ५५ रन जोडे । उनले ६ छक्का र १ चौका प्रहार गरे ।

यसअघि एरोन फिंन्च १४ रन बनाएर पभिलियन फर्किदा देवदत्त पडिक्कलले ३७ बलमा २ चौकाको मद्दतमा ३५ रन जोडे । कप्तान विराट कोइलीले ३२ बलमा २ छक्का र १ चौकाको मद्दतमा ४३ रन बनाए। अन्त्यमा गुरुकित सिंहले १९ रन बनाएर नटआउट रहे ।

राजस्थानको लागि श्रेयस गोपालले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर १ विकेट लिए । यस्तै कार्तिक ट्यागी र राहुल टेवाटियाले पनि १-१ विकेट लिए । जितसँगै बैंगलोर ९ खेलमा ६ जित र ३ हार सहित १२ अङ्क जोड्दै तेस्रो स्थानमा यथावत छ । राजस्थान ९ खेलमा ३ जित र ६ हार सहित ६ अङ्क जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *