दार्चुलाको छांगरु र स्याउखानीमा टेलिकमको टावर जडान हुँदै

दार्चुला । दार्चुलाको सबैभन्दा दुर्गम क्षेत्र मानिएका अपिहिमाल गाउँपालिकाको स्याउखानी र व्यास गाउँपालिकाको छांगरुमा नेपाल टेलिकमको टावर जडान गरिँदैछ । अपिहिमाल–४ मा टावर भए पनि वडा नम्बर ३ का क्षत्ति, घाजिरलगायतका बस्तीसम्म सञ्चारको पहुँच पुगेको थिएन ।

सोही क्षेत्रमा हरेक वर्ष प्रसिद्ध क्षत्ति जात्रा लाग्ने ठाउँमा सञ्चारविहीन हुँदा समस्या भएको भन्दै गाउँपालिकाको पहलमा नमस्ते टावर जडान गरिन लागेको हो ।सञ्चारबाट टाढा रहेका बस्तीलाई सञ्चारसँग जोड्ने गरी अहिले तिव्रताका साथ टावर जडानको कार्य भइरहेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए । यो क्षेत्र सञ्चारबाट निकै विकट थियो ।

गाउँपालिकाका अन्य क्षेत्रमा सञ्चार भए पनि यहाँका नागरिकले फोन गर्न वडा नम्बर ४ को गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो । सो क्षेत्रमा छिट्टै टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको अध्यक्ष मन्यालको भनाइ छ ।

अपिहिमाल–६ सितोला क्षेत्रका लागि पनि टेलिफोन टावर जडान हुँदैछ । टावर जडान भएपछि पूरै गाउँपालिका सञ्चारमा जोडिने छ । ६ वडा रहेको अपिहिमाल गाउँपालिका पर्यटकीय क्षेत्र पनि हो । पर्यटक घुम्न आउने क्षेत्रमा सञ्चार हुन सकेन भने समस्या हुने भन्दै गाउँपालिकाले शुरुदेखि नै टेलिफोन टावर स्थापनाका लागि पहल गर्दै आइरहेको थियो ।

अहिले सांसद गणेशसिंह ठगुन्ना र गाउँपालिका अध्यक्ष मन्यालको पहलमा चाँडो टावर जडानको कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । यस्तै व्यासको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना भइसकेपछि नमस्तेको टावर आवश्यक रहेको छ । यसअघि छांगरुमा स्काई फोनको टावर भए पनि राम्रोसँग काम गर्न नसक्दा समस्या थियो ।

छांगरुमा नमस्ते टावर जडानका लागि भवन बनिसकेको छ । गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग भेटवार्ता गरी तिहारअघि नै छांगरुमा टावर जडान गर्न आग्रह गरेका छन् । छांगरुमा निर्माण भइरहेको नमस्ते टेलिफोनको टावरलाई तिहार अगावै फोर जी सेवासहित सञ्चालन गर्न आग्रह गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *