पहिरो पीडितलाई बागलुङ समाज अमेरिकाको २५ लाख सहयोग

  • 5
    Shares

बागलुङ । गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ ।

बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरिकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए । बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए ।

समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए । प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ ।

बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पुर्याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ । बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *