मानव–वन्यजन्तु द्वन्द्वः चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो ।

निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

सो आर्थिक वर्षमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२० घाइते भएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आर्थिक वर्ष २०७४ /७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७६ /७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उनले बताए । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ ।

“निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ”, सूचना अधिकारी रामले भने, “यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ ।” विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बतए ।
करिब छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड राहत प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६ /७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६४४ प्रदान गरेको रामले बताए । निकुञ्जले आर्थिक वर्ष २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ ।

सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत २२ लाख २४ हजार ४५० पीडित परिवारलाई उपलब्ध गराइएको उनको भनाइ छ । जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताए ।

आव २०७५/७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत एक करोड ११ लाख ९५ हजार ५१६ प्रदान गरिएको रामको भनाइ छ ।

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/ ७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताए । गत आव २०७६ ७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत छ लाख ७६ हजार ६७८ प्रदान गरिएको उनको भनाइ छ ।
सबैभन्दा बढी क्षति चितवनमा
निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ ।

त्यस्तै घाइते भएका २५६ घटनामध्ये २१२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् । चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ ।

मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *