चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेका निकुञ्जले जनाएको छ ।

नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए ।

भारतको प्रोटोकल अनुसार मृत गैँडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएकोे सूचना अधिकारी रामले बताए । यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ ।

मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ । गँैडाको पछाडिको खुट्टा भाँचिएको पाइएको निकुञ्जले जनाएको छ । गैँडाको खाग र खुर भने सुरक्षित रहेको सूचना अधिकारी रामले बताउनुभयो । निकुञ्जमा चालु आर्थिक वर्षको तीन महिनामा मत्रै विभिन्न कारणबाट सात गैँडाको मृत्यु भइसकेको छ । निकुञ्जमा हाल ६०५ गैँडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *