तनहुँमा दशैँमा घर आउँदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने

तनहुँ । दशैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

चाडपर्वमा देश तथा विदेशबाट धेरै सर्वसाधारण जिल्ला फर्किने हुँदा कोभिड–१९ को जोखिम बढ्ने भएकाले त्यस्ता व्यक्तिको वडास्तरसम्मै तथ्याङ्क राख्ने र अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।

त्यसका लागि स्थानीयस्तरमा गठन भएका अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए ।

बैठकले प्रत्येक स्थानीय तहमा एम्बुलेन्सको आवश्यकता महसुस गर्दै त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई अनुरोध गरेको छ । ब्यास नगरपालिका–५ कालीभञ्जन गण (ई) मा राखिएको जनज्योति ग्राम सेवाको एम्बुलेन्स सम्बन्धित संस्थालाई फिर्ता गर्ने निर्णय भएको प्रजिअ आचार्यले जानकारी दिए ।

उनका अनुसार आइसोलेसनमा रहेका सङ्क्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै बहिर्गमन गर्दा घरपरिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र बहिर्गमन गराउने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *