प्रदेश पाँचका मुख्यमन्त्री पोखरेलको गाडीमाथि ढुङ्गा प्रहार

बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेल सवार गाडीलाई लक्षित गरी बुटवलमा ढुङ्गा प्रहार भएको छ । आइतबार काठमाडौँबाट रुपन्देही आउँदै गरेका मुख्यमन्त्री पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्री सवार गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिए । अज्ञात समूहको आक्रमणबाट गाडीको सिसा फुटेको र गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो ।

मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने दुई गाडीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रदेश पाँचको राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ जानुभएको थियो । स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आइतबार रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *