राष्ट्रिय र पूर्वराष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई उपचार खर्च प्रदान गरेको छ । कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरेको हो ।

कोषबाट एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ सहयोग गरिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको छ । स्व. राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । आँखाको क्यान्सरका कारण उनको दुवै आँखाको ज्योति पनि गुमेको छ ।

यस्तै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै राखेपका सदस्य सचिव एवं कोषका अध्यक्ष सिलवालले आफ्नो जीवन नै खेलक्षेत्रमा समर्पित गरेका खेलाडीहरुले औषधि उपचार नपाएर मर्न पर्ने अवस्था आउन नदिने बताए । उपचार खर्च स्वरुप आर्थिक सहयोग पाएपछि खेलाडीहरु खुसी भएका छन् ।

उनीहरुले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भएपछि आफु खेलक्षेत्रमा फर्किने प्रतिवद्धता समेत जनाएका छन् । कल्याणकारी कोष २०६८ सालमा समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठले बताए । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *