USAID

पर्यटनमन्त्री भट्टराईद्वारा एकैदिन सुदूरपश्चिमका तीन विमानस्थलको उद्घाटन

  • 993
    Shares

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले शनिबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताए ।

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिए । यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उनले बताए ।

यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाए । त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताए ।

सोही कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले दिपायल विमानस्थलको स्तरोन्नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्राएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरूपमा जहाज सञ्चालन हुनुपर्ने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताए ।

कालोपत्रको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुनसके यहाँको विकास हुनुका साथै पर्यटकको चहलपहल पनि बढ्नेमा यहाँका स्थानीयवासी निकै आशावादी भएका छन् ।


  • 993
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *