प्रदेश पाँचको राजधानी दाङको भालुवाङ बनाउने निर्णयबिरुद्ध बुटवलमा आन्दोलन सुरु

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय बिरुद्ध बुटवलमा आन्दोलन सुरु भएको छ । नेपाल विद्यार्थी संघले प्रदेशको राजधनी षड्यन्त्रपूर्वक बुटवलबाट सार्न प्रस्ताव गरिएको भन्दै बिरोध प्रदर्शन सुरु गरेको हो ।

नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु बुटवलको मुख्य सडक अस्पताललाईन, मिलनचोक क्षेत्रमा प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले लुम्बिनी बस टर्मिनल अगाडि गुड्दै गरेको कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ र लु १ झ ४४५नम्वरको सरकारी जिपमा तोडफोड गरेका छन् । यस अघि नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रदेशसभा अगाडि टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।

अहिले बुटवलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश सरकारले प्रदेशको राजधानीको विषय निर्णय गरेसंगै बिहानैदेखि बुटवलमा व्यापक प्रहरी परिचालन गरिएको छ । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभा बैठकमा पेस भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्विनीको साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्विनी प्रस्ताव परिएको मन्त्री केसीले बताए । मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगतै प्रतिपक्षि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । उनीहरुले प्रदेशको प्रस्तावले आफूहरुको चित दुखेको बताए ।

उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ । राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *