प्रदेश पाँचको स्थायी राजधानी दाङ बनाउने प्रदेश सरकारको निर्णय


बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ ।

शुक्रबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का आन्तरिक मालिक तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश पाँचको राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेका हुन् ।

प्रदेश ५ को राजधानी भने दाङको राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहने प्रस्ताव पनि गरिएको छ । त्यस्तै गौतमबुद्धको जन्मस्थल लुम्विनीको साझा चिनारीको रुपमा प्रदेशको नाम लुम्विनी प्रस्ताव परिएको मन्त्री केसीले बताए । मन्त्री केसीले राजधानी र नामाकरणबारे प्रस्ताव पेश गरेलगतै प्रतिपक्षि कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए ।

उनीहरुले प्रदेशको प्रस्तावले आफूहरुको चित दुखेको बताए । उक्त प्रस्तावमाथिको छलफलका लागि प्रदेशसभाको बैठक सोमबार बोलाइएको छ ।

राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ । यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *