रुपन्देही,कपिलवस्तु र सप्तरीमा गरी थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

  • 3
    Shares

बुटवल । रुपन्देही, कपिलवस्तु र सप्तरीमा गरी थप तीन जना कोरोना संक्रमितको बुधबार मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।

यही असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । उनमा मिर्गाैला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ । यससँगै अस्पतालमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

त्यसैगरी, कपिलवस्तुको बुद्धभूमि नगरपालिका –१ निवासी ५० वर्षीया कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ । उनको बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए । यससँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।


त्यस्तै, सप्तरीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का ३५ वर्षीय पुरुष रहेका छन् । मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको आज मृत्यु भएको उनका भाइ पिन्टुकुमार यादवले जानकारी दिए ।

बालकैदेखि मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो । खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडाध्यक्ष तेजनारायण यादवले १५ हजार रुपैयाँ दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए । उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *