प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

काठमाडौ । प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन ।
कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ ।

पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो । ‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो । यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन् ।

असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन् । त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ । त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ ।

नेपाल प्रहरीले प्रारम्भिक छानबिन गरी असइ कार्कीलाई गत ३० साउनमा अख्तियारलाई बुझाएको थियो । उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि आयोगमा बुझाइएको थियो । सोही अनियमिततामाथि छानबिन गर्ने क्रममा त्यसअघि पनि पेट्रोल पम्पमा हिनाहिना भएको तथ्य खुलेको छ । स्रोतका अनुसार हालसम्मको छानबिनमा करिब पाँच करोड हिनामिना भएको देखिएको छ । प्रहरीले पनि एसपी सुदर्शन कोइरालाको संयोजकत्वमा एक समिति गठन गरी सबै पुराना विवरणको अध्ययन थालेको छ ।
प्रारम्भिक छानबिनमा प्रहरी पेट्रोल पम्पमा कारोबार गर्ने ठूला कम्पनीहरूले भुक्तान गरेको रकम आफ्नै खातामा राखेर असइ कार्कीले हिनामिना गरेका थिए । सुरुमा प्रहरी प्रधान कार्यालयले उनलाई त्यो पैसा तिराउने प्रयास गरेको थियो, तर त्यसमा आफ्नो मात्र गल्ती नभएको भन्दै उनले विवरण दिएपछि फराकिलो छानबिन सुरु भएको हो । अख्तियारले पेट्रोल पम्पमा काम गरेका पूर्वइन्स्पेक्टर विष्णु पोखरेललगायत प्रहरीसँग बयान लिइसकेको छ ।

अहिले बाहिर आएको अनियमितता नक्सालस्थित पेट्रोल पम्पको मात्र हो । सामाखुसी, पथलैया, कदमाहामा समेत कल्याण कोषअन्तर्गत पेट्रोल पम्प सञ्चालित छन् भने भरतपुरमा सञ्चालनको अन्तिम तयारी छ । अन्य पेट्रोल पम्पमा समेत धेरै चुहावट देखाएर अनियमितता हुने गरेको स्रोत बताउँछ । यो खवर आज नयां पत्रिकामा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *