काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै उपलव्ध गराउन निर्देशन दिएको छ ।
यसअघि नेगेटिभ आए ल्याबले जानकारी गराउने र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिने गरेकोमा अब भने नेगेटिभ वा पोजेटिभ जुन नतिजा आएपनि परीक्षणको रिपोर्ट सम्बन्धित व्यक्तिलाई नै उपलव्ध गराउन निर्देशन दिएको हो ।
आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको जानकारी दिए ।
उनले संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि प्रयोगशालले सिधै जानकारी गराउँदा व्यवस्थापन छिटो हुने विश्वास व्यक्त गरे ।
