ठूला भ्रष्टाचारका मुद्दामा सक्रियता बढाउन अख्तियारलाई ट्रान्सपरेन्सीको सुझाव

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ ।

ट्रान्सपरेन्सीले आइतबार विज्ञप्ती जारी री आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरू यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालिन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीहरुलाई कारवाही गर्न माग गरेको हो ।

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल
प्रेश विज्ञप्ति
विषयः ठूला भ्रष्टाचारका मुद्दाहरुमा अख्तियारको सकृयता बढोस् ।
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल भ्रष्टाचारका विरुद्धमा निरन्तर खबरदारी गर्ने नागरिक संस्था हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै आयल निगमको जग्गा खरिद प्रकरणमा भएको ठूलो अनियमितता सम्बन्धी मुद्दाको फाईल हतारहतारमा तामेलीमा राखिएको समाचारले यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
संसदका विभिन्न चारवटा संसदीय समितिहरु, महालेखा परिक्षकको कार्यालय तथा सार्वजनिक खरिद अनुगमन कार्यालय समेतले आयल निगमको जग्गा खरिद प्रकरणमा व्यापक अनियमितता भएको तथा प्रचलित कानूनको ठाडो उल्लंघन गरी निगमलाई ठूलो आर्थिक हानी नोक्सानी पुर्याएको भन्ने प्रतिवेदन प्राप्त भएको अवस्थामा थप अनुसन्धान गरी दोषिहरु उपर कडा सजायको मागदावी गरी मुद्दा दायर गर्नुपर्नेमा उल्टै माहामारीको मौका छोपेर गुपचुपमा एक अरब रुपैया भन्दा बढि रकम हिनामिना गर्ने गराउने व्यक्तिहरुलाई ठाडै उन्मुक्ति दिनेगरी मुद्दाको फाइल बन्दगरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरुको कार्यक्षमता र ईमान्दारितामा मात्र होइन नियतमा पनि गम्भीर प्रश्नहरु उठेका छन् ।

निष्पक्षता र निर्भिकता पूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाव र प्रभावमा परी राजनैतिक नेतृत्वहरुको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दाहरु नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टिगर्न निकै गाह्रो पर्ने देखिन्छ । यसर्थ आयोगले आफ्नो साख जोगाउन पनि प्रशासनिक तहमा हुने भ्रष्टाचारका साथै राजनैतिक नेतृत्व तहको संलग्नता एवं नीतिगत निर्णयका नाममा हुने ठूला भ्रष्टाचारका मुद्दामा केन्द्रित रही भ्रष्टाचारीहरु उपर निर्मम कारवाही प्रकृया अगाडि बढाउनु अत्यावश्यक भैसकेको छ ।

यसै सन्दर्भमा आयोगले हालै तामेलीमा राखेको भनिएको आयल निगमको जग्गा खरिद प्रकरणको फाईल व्यूँताएर त्यसमा र हाल आयोगमा अनुसन्धानका क्रममा रहेका वाईडबडी जहाज खरिद प्रकरण, न्यारोबडि जहाज खरिद प्रकरण, नेपाल ट्रष्टको जग्गाहरु यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेश खरिद सम्बन्धमा तत्कालिन मंत्रीको अडियो प्रकरण र स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरुमा अविलम्ब अनुसन्धान प्रकृया सम्पन्न गरी दोषिहरुलाई अदालतको कठघरामा पुर्याओस् भनी टि.आई. नेपाल जोडदार माग गर्दछ ।
खेमराज रेग्मी
अध्यक्ष
ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल

२०७७/०५/२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *