काठमाडौं । भक्तपुर, रुपन्देही र स्याङ्जाका गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको मेघा अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुरका ३८ वर्षका पुरुषको शनिबार बिहान ७ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी शुक्रबारमात्रै उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
त्यस्तै, रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भदौ १४ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् । उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनमा पीसीआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
त्यसैगरी, कोरोना संक्रमित स्याङ्जाका एक पुरुषको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । कोरोना संक्रमण भई भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका स्याङ्जाको पुतलीबजारका ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
