रूपान्तरणले मात्र रास्वपाको राजनीतिक यात्रालाई विश्वसनीय बनाउँछः नेता न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य प्रमोद न्यौपानेले रास्वपाको पहिलो महाधिवेशनले पार्टीलाई नीति र नेतृत्व दिएपनि त्यो पूर्ण भइनसकेको बताएका छन् ।

महाधिवेशन सम्पन्न भएको भोलिपल्ट शनिबार सामाजिक संजालमार्फत न्यौपानेले नीतिको गहिरो व्याख्या, त्यसको व्यवहारिक रूपान्तरण र नेतृत्वमा थप राजनीतिक चेत, दृष्टि र संस्कारको विकास आवश्यक रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘रास्वपाको पहिलो महाधिवेशनले पार्टीलाई नीति (सामाजिक लोकतन्त्र) र नेतृत्व (केन्द्रीय समिति) दियो। तर, दुवै अझै पूर्ण भइसकेका छैनन्। अब आवश्यक छ– नीतिको गहिरो व्याख्या, त्यसको व्यवहारिक रूपान्तरण र नेतृत्वमा थप राजनीतिक चेत, दृष्टि र संस्कारको विकास । सबैभन्दा ठूलो चुनौती अब सोच, शैली र संगठनात्मक संस्कार बदल्ने हो। यथास्थितिको सोच र अभ्यासको निरन्तरताले रूपान्तरण सम्भव हुँदैन। संगठनमा हावी केन्द्रीयताको न्यूनीकरण, तल्ला तहका समितिहरूमा अपनत्व, स्वामित्व र पहलको भावना विकास तथा हरेक तहमा सदस्यमैत्री, उत्तरदायी र लोकतान्त्रिक नेतृत्वको निर्माण तत्कालीन प्राथमिकताका विषय हुन्।’

उनले पार्टीको सुदृढीकरण र शुद्धीकरणको समग्र प्रक्रिया अर्थात् वास्तविक संगठनात्मक रूपान्तरण सुरु हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यससँगै पार्टीको सुदृढीकरण र शुद्धीकरणको समग्र प्रक्रिया अर्थात् वास्तविक संगठनात्मक रूपान्तरण सुरु हुनुपर्छ। त्यही रूपान्तरणले मात्र रास्वपाको राजनीतिक यात्रालाई विश्वसनीय बनाउनेछ। अनि मात्रै हामी आत्मविश्वासका साथ भन्न सक्नेछौं, ‘हामी अरूभन्दा फरक छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *