नेकपा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन गरिने

काठमाडौँ । सत्तरुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘त्यसैगरी कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा साढे चार घण्टा चलेको बैठकले पार्टीको कार्यकारी अधिकारको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिने र अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने बताए ।

बैठकले महाधिवेशन आयोजनामा पार्टी केन्द्रित हुने निर्णय गरेको छ । महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ नेकपाको स्थायी समितिको बैठक सकिएको प्रवक्त श्रेष्ठले बताए ।

बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतका नेताहरूले बोलेका थिए ।

असार १० गतेदेखि सुरु भएको बैठक असार १८ पछि निरन्तर स्थगित भएको थियो । पार्टीको आन्तरिक विवाद चरम उत्कषर्मा पुगेपछि पटक पटक स्थगित भएको बैठक आज बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *