तनहूँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड १९ को संक्रमणका कारण देशभरका जनता संकटमा परेका बेला राहतको व्यवस्था गर्नुपर्ने अवस्थामा सरकार निरीह भएर बसेको बताएका छन् । तनहूँको व्यास नगरपालिका–६ शिशाघाटमा आयोजित प्रशिक्षण कार्यक्रममा नेता पौडेलले दुईतिहाइ नजिकको सरकारले जनतालाई राहत दिनुपर्ने बेलामा आहत दिएको बताएका हुन् ।
देशैभर महामारी फैलिएर जनता मर्दै गर्दासमेत सरकारले ठोस निर्णय लिन नसकेको उनको भनाइ छ । ‘बहुमतको सरकारले संकटको बेलामा जनतालाई राहत दिनुपर्ने हो, तर देशभरका जनताको समस्या बुझ्नुपर्ने अवस्थामा पनि केही गर्न सकेको छैन, यो भ्रष्ट सरकारले आफ्ना कार्यकर्ता पाल्ने काम मात्रै गरेको छ,’ पौडेलले भने, ‘पहिले जनता बचाउनतर्फ सरकारले सोच्नुपर्ने हो तर सरकारले कहिले लिने हो ठोस निर्णय?’
जनतालाई र देश बचाउनेतर्फ नेकपा सरकारको ध्यान नपुगेको उल्लेख गर्दै पौडेलले जनता बचाउनुभन्दा भ्रष्टाचार गर्नमा सरकार तल्लिन रहेकाे उल्लेख गरे । प्रधानमन्त्री कोषमा रहेको रकम स्थानीय सरकारलाई दिनुपर्छ भनेर कांग्रेसले राखेको मागलाई सरकारले नटेरेको तथा जनता दुःख सुख बुझ्ने स्थानीय सरकारलाई नेकपा सरकारले बुझ्न नसकेन स्पष्ट पारे । उनले स्वास्थ्य सामग्री खरिदमा समेत कमिसनको खेलमा लागेर सरकारले देशलाई गरिवीतर्फ धेकेलेको बताए ।
कांग्रेस तनहूँका सभापति बैकुण्ठ न्यौपानेले देशको विकासमा लाग्नुपर्ने दुईतिहाइको सरकार कमाउधन्दामा लिप्त भएको बताए । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि खर्च गरेको भने पनि स्थानीय तहमा सरकारको कुनै रकम आइनपुगेको उनले बताए ।
