काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीलाई पर्यटकीय उपजको रुपमा विकास र प्रवर्द्धन गरी धेरैभन्दा धेरै बुद्धिष्ट पर्यटक भित्र्याउने योजनाका साथ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्धिष्ट टुरिस्ट प्रवर्द्धन समिति गठन गरिएको छ । लुम्बिनी तथा बुद्घ र बुद्घ धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाको प्रवर्द्धन, बजारीकरण तथा प्रचारप्रसार गर्ने उद्देश्यले समिति गठन गरिएको बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मी संयोजक रहेको उक्त समितिमा लुम्बिनीलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा विकास गर्न पर्यटन व्यवसायी विक्रम पाण्डे सह–संयोजक, लुम्बिनी विकास काेशका निमित्त सदस्य सचिव ज्ञानिन राई, बुद्घ धर्म संस्कृतिका अध्येता प्रा. रमेश ढुङ्गेल, डा. सन्दुक रुइत, कर्ण शाक्य, अम्बिका श्रेष्ठ, अशाेक पाेख्रेललगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्ति एवम् पर्यटन सम्बद्ध संघ संस्थाका नेतृत्वसमेत सदस्यको रुपमा रहेका छन् ।
लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्घसँग सम्बन्धित अन्य स्थलहरु जस्तै तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रवर्द्धन, ब्राण्डीङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीय स्थलहरुसँग जोड्ने कार्य, अन्तर्राष्ट्रिय बजारहरुमा प्रचार प्रसारको मोडालिटी तय गर्नेछ ।
उक्त विषयमा अध्ययन र विचार विमर्श गरी कार्ययोजना बनाई तिनै तहका सरकार, स्थानीय समुदाय, निजी क्षेत्र, लगानीकर्ता, अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने कार्यक्रम तय गरिएको छ । भैरहवामा निर्माणाधिन गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा बौद्घमार्गी तथा शान्तिप्रिय पर्यटकलाई विभिन्न मुलुकहरुबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत उक्त समितिले योजना बनाउने जनाइएको छ ।
