बुटवल उपमहानगरद्धारा सहयोगापेक्षीको निःशुल्क पिसिआर

बुटवल । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिदै जानथाले पछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको छ । उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पिसिआर परीक्षण थालेको हो ।

बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ । आफन्तविहिन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसाहरालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ बेसाहराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले बताए ।
प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन भन्ने उद्देश्यले सडकमा बेसाहरा भएकाको उद्धार र पिसिआर परीक्षण गरिएको हो । आठजनाको स्वाव सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ । उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पिपिई लगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।

कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर जीवन बिताएकालाई नगर प्रहरी मार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ । बुटवल उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिए ।

उनका अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ । उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पिसिआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताए । उनले लैंगिक हिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताए । मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुशरण गरेका छन् ।

उपमहानगरले सडकमा बेसाहरा भएकाको पिसिआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *