प्रसारण र वितरण लाइन मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति

म्याग्दी । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको थियो ।

अन्नपूर्ण गाउँपालिका–२, ३, ४ र ५ तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत् प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईंले प्रसारण लाइनको समस्याले तत्काल दाना सबस्टेसनबाट विद्युत् आपूर्ति गराउन सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए ।

“दाना सबस्टेसनबाट तत्काल सम्भव नहुने भएकाले मिलनचोक देखि दाना हुँदै मुस्ताङको कोवाङमा रहेको ३३ केभी प्रसारण लाइनको मर्मत सकेर विद्युत् आपूर्ति गरेका छौँ,” उनले भने, “प्राधिकरणका कर्मचारी, प्राविधिक र मजदुर परिचालन गरेर विद्युत् आपूर्ति गराउन सफल भएका छौँ ।”

मुस्ताङमा यही असोज २४ गतेदेखि विद्युत् आपुर्ति गरिएको र म्याग्दीमा एक/दुई घरबाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागार्इंले बताए । विद्युत् आपूर्ति भएसँगै अवरुद्ध सञ्चार सेवा सञ्चालन भएको छ ।

सर्वसाधारणको दैनिक जीवनयापन सहज हुन थालेको छ । बाढीका कारण मिलनचोक–दाना ३३ केभी प्रसारण लाइनको १० वटा पोल, ५०० मिटर तार, दाना–कोवाङ खण्डमा पाँच वटा पोल र २०० मिटर तारका साथै विभिन्न उपकरण नष्ट भएका थिए ।

तातोपानी वितरण केन्द्रअन्तर्गत ११ केभी वितरण लाइनमा म्याग्दी र मुस्ताङमा एक–एक वटा पोल, मुस्ताङमा एक हजार मिटर तार र उपकरण क्षति भएका छन् । थापाखोला र घलेम्दीखोला जलविद्युत् आयोजनाबाट नौ मेगावाट विद्युत् उत्पादन गरी ३३ केभी लाइनमा जोडिएको वितरण केन्द्रका प्रमुख चापागाईंले बताए ।

म्याग्दीका ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ११० मेगावाटको नीलगिरि, छ मेगावाटको रेलेखोला र १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना भने बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *