फाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै

काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७:४५ बजे सीपीएलको शीर्ष स्थानको टोली ट्रिनबागो नाइट राइडर्ससित सेमिफाइनल खेल खेल्नेछ । नाइट राइडर्स समूह चरणको सबै खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने जमैका चौथो स्थानमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न पुगेको हो ।

उक्त खेलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सन्दीपले जमैकाको तर्फबाट बलिङ गर्न पाउने निश्चित जस्तै छ । उनले समूह चरणका सबै खेलमा बलिङ गर्ने अवसर पाएका थिए । सन्दीपले नौ खेलमा १२ विकेट लिइसकेका छन् । शीर्ष स्थानको नाइट राइडर्सका लागि ब्याटिङ फाइनल पुग्ने आधार हो भने जमैकाको बलिङ मजबुत छ । त्यसमा मुख्य गरी जमैका बलिङका लागि सन्दीप र अफगानिस्तानका खेलाडी मुजिबउर रहमान माथि निर्भर रहने छ ।

नाइट राइडर्सले ब्याटिङकै सहारामा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । यद्यपि उसको बलिङलाई पनि कम आँक्न मिल्दैन । ब्याटिङमा नाइट राइडर्स डेरेन ब्राभो, लेन्डले सिमोन्स, कलिन मुनरो, कप्तान केरोन पोलार्ड, डिवाने ब्राभो र सुनिल नराइनेमाथि निर्भर रहने छ । कलिन मुनरो र डिवाने ब्राभोले समूह चरणका खेलमा दुई दुई अर्ध शतक प्रहार गरेका छन् । डेरेन, सिमोन्स, पोलार्ड, डिवाने । सुनिलले पनि अर्ध शतक हानिसकेका छन् । डेरेन ब्राभोले समूह चरणका १० खेलमा २३९ रन बनाएका थिए । यस्तै सिमोन्सले नौ खेलमा २१८ रनको योगदान दिएका थिए ।

जमैका भने ब्याटिङका लागि जेरमिन ब्ल्याकउड, आन्द्रे रसेल, ग्लेन फिलिप्समाथि भर पर्ने छ । आन्द्रे रसेलले समूह चरणका १० खेलमा तीन अर्धशतक प्रहार गरेका थिए । यस्तै ब्ल्याकउड र फिलिप्सले एक एक अर्धशतक बनाएका थिए । फिलिप्सले समूह चरणका १० खेलमा जमैकाका लागि ३१४ रनको योगदान दिएका थिए । आन्द्रे रसेलले आठ खेलमा २२० रन बनाएका थिए ।

यसैगरी नाइट राइडर्स जमैकाविरुद्धको सेमिफाइनलमा समूह चरणका खेलमा जस्तै बलिङका लागि फवार्ड अहमद, डिवाने ब्राभो, जेडेन सेल्स, सिकन्दर राजा र खेइरे पियरेमाथि निर्भर रहने छ । फवार्डले समूह चरणका १० खेलमा १०, ब्राभोले ९, सेल्सले ८ तथा सिकन्दर र पियरेले सात सात विकेट लिइसकेका छन् ।

यस्तै जमैका भने समूह चरणका खेलमा जस्तै मुख्यतया सन्दीप लामिछाने र मुजिबउर रहमानमाथि भर पर्ने छ । रहमानले हालसम्म सीपीएलमै सर्वाधिक १५ विकेट लिएआ छन् । यस्तै सन्दीपले १० खेलमा १२ विकेट लिनुभएको छ । उनी सीपीएलकै सबैभन्दा किफायती बलर हुन् । यस्तै जमैकाका लागि कार्लोस वर्थह्वाइट र फिडेल इडवार्ड भरपर्दा बलर हुन् । कार्लोसले समूच चरणका १० खेलमा १० तथा इडवार्डले नौ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *