मल नल्याउने दुई कम्पनीको ठेक्का तोडियो : साढे नौ करोड जमानत जफत, कालोसूचीमा राखिने

काठमाडौ । धान रोप्ने वेलामा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले धान गोड्ने वेलासम्म मल नल्याएपछि सम्झौता खारेज गरिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रप्रसाद भण्डारीका अनुसार मल ल्याउने अन्तिम म्याद २० भदौसम्म दुवै कम्पनीले मल ल्याउन नसकेपछि सम्झौता राखेज गर्दै जमानतसमेत जफत गरिएको छ ।
माओवादीनिकट ठेकेदार शारदाप्रसाद अधिकारी तथा कांग्रेसनिकट ठेकेदार हुमनाथ कोइरालाका दुई कम्पनीलाई कालोसूचीसमेत राखिने भण्डारीले बताए ।

शैलुङ र होनिको दुवै कम्पनीले २५–२५ हजार टन युरिया आयातका लागि कृषि सामग्री कम्पनीबाट गत फागुनमै ठेक्का पाएका थिए । उनीहरूले २० भदौसम्म सबै युरिया आयात गर्ने सम्झौता गरे पनि एक बोरा मल नल्याएर धानखेती गरेका किसानलाई चरम दुःख दिएका छन् । दुवै कम्पनीले समय थप गर्न निवेदन दिए पनि मलको हाहाकार बनाएर सरकारी निकायलाई नै अप्ठ्यारो स्थितिमा पु¥याएको निष्कर्षसहित कारबाहीस्वरूप सम्झौता खारेज गरी जमानत रकमसमेत जफत गरिएको कृषि सामग्रीले जनाएको छ ।

कम्पनीका अनुसार कुल अनुमानित रकमको पाँच प्रतिशत जमानतबापत राख्नुपर्ने प्रावधान छ । कृषि सामग्रीका प्रवक्ता विष्णु पोख्रेलका अनुसार होनिकोले तीन लाख ८७ हजार तीन सय ७५ डलर र शैलुङले चार लाख चार सय दुई डलर जमानतबापत जम्मा गराएका थिए । एक डलरबराबर औसतमा १२० रुपैयाँले गणना गर्ने हो भने दुवै कम्पनीबाट नौ करोड ४५ लाख रुपैयाँ जफत भएको छ, जुन राज्यकोषमा जम्मा हुनेछ ।

समयमै मल नल्याई धान उत्पादनमा असहयोग गरेकाले उनीहरूलाई क्षतिपूर्तिसमेत भराउने र कालोसूचीमा राख्नेसमेत निर्णय भएको कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले बताए । दुवै कम्पनीलाई कालोसूचीमा राख्न आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले उनले बताए । ‘अहिले युरिया आपूर्तिको ठेक्का लिएकाहरूमाथि गरिएको कारबाहीलाई मैले सुशासनका लागि थालिएको अझ महत्वपूर्ण कदमका रूपमा लिएको छु । ठेक्का हत्याएर समयमै काम नगर्नेलाई कारबाही हुन्छ भन्ने उदाहरण यसले देखाएको छ,’ आइतबार विज्ञप्ति जारी गर्दै मन्त्री भुसालले भनेका छन् । यसबाट जसरी पनि ठेक्का पार्ने, तर काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने दाबी पनि मन्त्री भुसालले गरेका छन् ।

मल आयातको ठेक्का पाएका दुवै कम्पनी निर्माण क्षेत्रमा बदनाम ठेकेदारका हुन् । शैलुङका सञ्चालक अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरधनी हुन् । कोइराला कांग्रेसनिकट नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुन् । बी कोई बिल्डर्सका सञ्चालक हुन् ।

यसैबीच, मन्त्री भुसालले नेपालमै रासायनिक मल कारखाना खोल्ने विषयको अध्ययन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा समिति गठन गरेको पनि जनाएका छन् । सो समितिले कारखाना स्थापना गर्ने सम्भाव्यताबारे अध्ययन गरेर प्रतिवेदन दिने मन्त्री भुसालले जानकारी दिए ।

पछिल्लो समय रासायनिक मल वितरणसम्बन्धी अलग्गै निर्देशिका जारी गरी पारदर्शी प्रणालीबाट किसानसम्म सहजै मल पुग्ने वातावरण सिर्जना गरिएको पनि मन्त्री भुसालले बताए । अहिले साल्ट ट्रेडिङ र कृषि सामग्रीमा दर्ता भएका सात हजार सात सय सहकारीले मल वितरण गरिरहेको र आगामी दिनमा स्थानीय तहले तोकेका सहकारीले मल वितरण गर्ने र तिनको अनुगमन पनि स्थानीय सरकारले नै गर्ने निर्देशिकामा उल्लेख छ । यो खवर आज नयां पत्रिका दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *