दुई हजार प्रहरी कोरोना सङ्क्रमित

काठमाडौँ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *