अर्थ एवं सञ्चारमन्त्री खतिवडाद्वारा पदबाट राजिनामा

काठमाडौंँ । अर्थ एवं सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका छन् । राजिनामा दिनुअघी उनी अर्थ र संचार मन्त्रालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

सूचना प्रविधिको प्रयोगमा जोड दिन आग्रह

मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गरेका छन् । यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध सबैलाई उनले धन्यवाद दिए ।
उनले भने, “मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो ।”

मन्त्री खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गरे । उनले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै मन्त्री डा खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताए । उनले भने, “कोभिड –१९ ले हामीलाई कठिन अवस्थामा पार्नुका साथै केही अभूतपूर्व अवसर पनि प्रदान गरेको छ, पहिले फेशनका रुपमा रहेका अनलाइन शिक्षा र टेलिमेडिसिन अब हाम्रा लागि यथार्थ बन्दै गएका छन् ।”

“सिंहदरबारभित्रैको एक निकायबाट पठाइएको चिठ्ठीपत्र अर्को निकायमा किन ढिलो पुग्छ रु शासकीय प्रबन्ध र सूचना प्रविधिको प्रयोग गरियो भने यस्तो अवस्था रहँदैन”, मन्त्री डा खतिवडाले भने, “तोकिएका काममा शीघ्रता ल्याउनोस्, यस्ता समस्याहरु हल हुन्छन् ।”
मन्त्री डा खतिवडाका अनुसार उनले अर्थमन्त्रीका रूपमा दुई वर्ष छ महीना केही दिन र सञ्चारमन्त्रीका रूपमा सात महीना काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *