माननीय भएपछि मन्त्री बन्ने लाइनमा बामदेव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम राष्ट्रिय सभाको सदस्य नियुक्त भएपछि मन्त्री बन्ने प्रतिक्षामा रहेका छन् । विगत ६ महिनादेखियता रिक्त राष्ट्रिय सभाकाे सांसद पदमा बामदेव गौतमलाई मनोनीत गरे पनि उहाँ मन्त्री बन्न नपाउने संवैधानिक ब्यवस्था रहेकाे एकाथरि विज्ञहरूले बताएका छन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको कार्यकाल भोलिबाट समाप्त हुँदैछ । डा. खतिवडा राष्ट्रिय सभाको सदस्य बनाएर मन्त्री पदलाई निरन्तरता दिने वा सो सदस्यमा नेकपाका नेता गौतमलाई ल्याउने भन्ने बारेमा विवाद हुँदै आएको थियो । बिहीबार बसेको सचिवालय बैठकले भने गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको डा. खतिवडालाई राष्ट्रिय सभाको सदस्य बनाएर मन्त्री पदलाई निरन्तरता दिने चाहना थियो । तर ,नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने गरी यस अघि नै निर्णय गरेको थियो भने बिहीबारको बैठकले पनि त्यही निर्णयलाई निरन्तरता दिएको हो ।

अपवादबाहेक मन्त्री हुनको लागि कि त प्रतिनिधि सभाको कि त राष्ट्रिय सभाको सदस्य हुनुपर्दछ । अवपादको रुपमा ६ महिनाको लागि भने संघीय संसदको सदस्य नभएको ब्यक्ति पनि नेपालको संविधानको धारा ७८ (१) बमोजिम मन्त्री हुन सक्नेछ । सो बमोजिम डा. खतिवडा मन्त्री बन्नुभएको हो ।

संविधानले केही ब्यक्तिलाई मन्त्री हुनबाट पनि रोक लगाएको छ । तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको ब्यक्ति पनि सो सभाको कार्यकाल भर मन्त्री हुन नपाउने गरी संविधानले रोक लगाएको हो ।

संविधानको धारा ७८ को उपधारा (४) मा भनिएको छ–‘उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको ब्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदका लागि योग्य हुने छैन ।’

नेकपाका नेता गौतम आफूलाई राष्ट्रिय सभाको सदस्य बनाउनु पर्ने र त्यसपछि उपप्रधानसहित अर्थ मन्त्रीको कार्यभार सम्हाल्ने भनी प्रधानमन्त्री ओलीसँगको भेटमा बताएका थिए । नेता गौतम यही प्रतिनिधि सभाको लागि भएको निर्वाचनमा बर्दिया जिल्लाबाट पराजित भएका कारण नेता गौतमको हकमा संविधानको धारा ७८ को उपधारा (४) लागू हुने कानूनविद्हरुको धारणा रहेको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा कथम्कदाचित गौतम राष्ट्रिय सभाको सदस्य भइहालेमा कुनै पनि मन्त्री बन्न संविधान वाधक रहेको बताउछन् । उनी भन्नुहुन्छ– ‘गौतम यो प्रतिनिधि सभाको कार्यकाल भर मन्त्री बन्न सक्नुहुन्न । ’यो खवर आज नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *