काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेकाे छ । सचिवालयको यो निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाकाे मन्त्री भाेलि नै मन्त्रिपरिषदबाट बिदा हुने भएका छन् ।
गौतमलाई राष्ट्रिययसभामा लैजानका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारेको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक रिक्त पदमा मन्त्रिपरिषद्ले मनोनयन गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनु भयो’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा भने ।
यसअघि फागुन १४ गते पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिएकाे थियो ।
त्यसैगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल भई ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णयसमेत भएको छ ।