सामूहिक प्रयासबाट नियन्त्रण : मन्त्री ढकाल

काठमाडौँं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे आज मन्त्रालयका उच्चअधिकारीसहित स्वास्थ्य क्षेत्रका विज्ञसँग भर्चुअल छलफल गरी सामूहिक प्रयासका लागि आव्हान गरेका छन । मन्त्री ढकालले सबैको प्रयासले नै कोभिड १९ नियन्त्रणमा सफलता मिल्ने भन्दै निरन्तर सुझावको अपेक्षा राख्दै नियन्त्रणमा देखापरेका चुनौतीको सामना सामूहिक प्रयासबाट गर्नुपर्ने बताए ।

कोरोनाविरूद्ध पहिलो भागमा राखेर खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाइ धन्यवाद दिँदै सबैले उनीहरूको हौसला बढाउनुपर्ने मन्त्री ढकालले बताए ।


छलफलमा डा महेश मास्केले सूचना व्यवस्थापन राम्रोसँग गर्नुपर्ने बताए । उनले कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर नगएको भन्दै संक्रमितको संख्या धेरै देखिएपनि संक्रमणको दर घट्दोक्रममा रहेको बताए । उनले कोरोना नियन्त्रणका लागि मन्त्रालयले गरेको प्रयास प्रभावकारी रहेको भन्दै सबैले सरकारको अभियानमा सहयोग गर्नुपर्ने बताए ।

विज्ञ प्रा. डा. जीवन शेरचनले कतिपय नागरिक मास्क किन्न सक्ने हैसियतमा समेत नरहेको भन्दै उनीहरू पनि घरबाहिर निस्कनुपर्ने र काममा जानुपर्ने अवस्था रहेको भन्दै मास्क सरकारले निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्ने बताए । नेपाल मेडिकल काउन्सिलका अध्यक्षसमेत रहेका प्रा डा भगवान कोइरालाले दशै लगायतका महत्वपूर्ण चाड नजिकै आइसकेको सन्दर्भमा प्रोटोकल बनाएर नागरिकलाइ सहजीकरण गर्नुपर्ने बताए । उनले अस्पतालमा संक्रमण रोकथामको काम गर्दै प्लाज्मा थेरापीका लागि प्लाज्मा बैंक बनाउनुपर्नेमा जोड दिए ।

छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले स्वास्थ्यकर्मीको सुरक्षाको सवालमा अली बढी ध्यान दिनुपर्ने बताए । टेकु अस्पतालका डा. अनुप बास्तोलाले भेन्टिलेटरमा जाने भन्दा पनि अक्सिजन थेरापीलाइ महत्वका साथ अघि बढाउनुपर्ने बताए । उनले अक्सिजन थेरापी भेन्टिलेटर भन्दा राम्रो र प्रभावकारी रहेको बताए । छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्याल, मन्त्रीका सल्लाहकार डा खेमबहादुर कार्की, सहसचिव डा गुणराज लोहनी, प्रवक्ता प्रा डा जागेश्वर गौतम, डा गुणनीधि शर्मा लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *