USAID

राष्ट्रकवि घिमिरेको निधनप्रति देउवा, पाैडेल, गाैतमलगायतका नेताहरूद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गरेका छन् । राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले घिमिरेको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताएका छन् ।

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रका ढुकढुकी, आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतनालाई जगाउने राष्ट्रकवि घिमिरेको १०१ वर्षको दीर्घ उमेरमा निधन भएकोमा आफू मर्माहत भएको उल्लेख गरेका छन् । कविवरको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको उल्लेख गर्दै नेता उनलेले घिमिरेको अमर आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रकवि घिमिरेको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि दिएका छन् । आज साँझ वक्तव्य जारी गरी मुख्यमन्त्रीले उनको योगदान नेपाली साहित्यमा कालजयी भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार भएको जनाउँदै सन्देशमा भनेका छन्, “बाल्यावस्थादेखि निरन्तररुपमा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएका बहुप्रतिभाका धनी राष्ट्रकवि घिमिरेले साहित्यका माध्यमबाट आधुनिक नेपाली जनमानसमा राष्ट्रप्रेम र प्रकृतिप्रेमको भावना जागरण गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएको थियो ।”
मुख्यमन्त्री गुरुङले दुःखका यस क्षणमा दिवङ्गत राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवम् आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् भने गण्डकी प्रदेश सरकारका तर्फबाट उच्च सम्मानसमेत प्रकट गरेका छन् ।

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने छन्ः गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले अपूरणीय क्षति भएको बताएका छन् । नेता गौतमले आज साँझ विज्ञप्ति जारी गरी उनी आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहने बताउँदै उनीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसंतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी शान्ति गीत संगीत अभियानले राष्ट्रकवि घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । गीतकार एवं अभियानका अध्यक्ष प्रकाश रायमाझीले शोक विज्ञप्तिमार्फत घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गरेका छन् । गीतकार रायमाझीले राष्ट्रकवि घिमिरेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *